काठमाडौं । गृह मन्त्रालयले बन्दाबन्दीको समयमा विभिन्न माग राखेर केही दिनदेखि भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न भनेको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गेर नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न सक्ने जनाएको हो ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा कतिपय व्यक्ति सामाजिक सञ्जालबाट निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिलाई सहभागी बनाउने, ज्ञापनपत्र दिन जाने आदि जस्ता कामका संलग्न भएको भन्दै जारी बन्दाबन्दीको आदेश विपरीत हुने गरी कुनै पनि काम कारवाही नगर्न, नगराउन र कुनै पनि बहानामा संलग्नसमेत सहभागी नहुन अनुरोध गरिएको छ ।
बन्दाबन्दीको आदेशको अवहेलना गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले एक सय देखि ६ सय रुपैयाँसम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको छ ।
मन्त्रालयले अत्यावश्यक काममा हिँडडुल वा आवागमन गर्दा भौतिक दूरी कायम गर्नुपर्ने बताएको छ ।













