जिप  त्रिशूली नदीमा खस्दा सिंचाइ सचिवसहित दुई जनाको मृत्यु

२७ माघ ०७४, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटबाट  जिप  त्रिशूली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिवसहित दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना बेपत्ता छन् ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको गरेको बा २ झ ३१४० नम्बरको जिप दुर्घटना भएको हो । जिप सिंचाइ मन्त्रालयका सचिव रामानान्द यादव आफैले चलाएका थिए । यादवले चलाएको जीप सडकको कल्भर्ड भत्काउँदै नदीमा डुबेको हो ।
जीप खस्दा सचिव यादवसँगै जिपमा सवार १५ वर्षकी उन्नती गुप्ताको मृत्यु भएको छ । भने २२ वर्षका छोरा सन्तोष यादव बेपत्ता छन् भने  पछिल्लो सिटमा बसेका ड्राइभर निरन्जन यादव ढोका खोलेर बाँच्न सफल भएका छन् ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र उद्धारमा खटिएका स्थानीयले त्रिशुली नदीमा हराइरहेको जीपलाई निकालेका थिए । घाइते निरन्जनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

जिप तीब्र गतिका रहेका कारण दुर्घटना भएको हुन सक्ने घटनास्थलको प्रारम्भिक अनुसन्धानमा देखिएको धादिङका प्रहरी प्रमुख ध्रुवराज राउतले बताए । उनल भने, ‘दुर्घटना स्थल हेर्दा सवारी साधन आइरहेकै दिशाबाट सडक छेउको कल्भर्ड भत्काएर नदीमा पुगेको देखिएको छ, राति ३ बजेतिर दुर्घटना भएकाले गर्दा सवारी चालक निदाएका पनि हुन सक्छन्, घटनाबारे विस्तृत अध्ययन भइरहेको छ ।’

यसैबीच त्रिशूलीमा हराइरहेकाको खोजीका लागि गएका शसस्त्र प्रहरी विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोर तारानाथ चापाई पनि पानीमा डुबेर गम्भीर घाइते भएका छन् । उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

दुर्घटनापछि घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यको अवलोकन गर्न सिंचाइ मन्त्री सन्जय गौतम, सिंचाई राज्यमन्त्री अमर पुन, मन्त्रालयका कर्मचारी, धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी, प्रहरी उपरीक्षक धुब्रराज राउत, विभागका कर्मचारी, र आफन्त घटनास्थलमा पुगेका थिए ।

उता हराइरहेका रामानन्द यादवका छोरा सन्तोष यादवको खोजीका लागि राजमार्गका विभिन्न प्रहरी चौकीलाई नदी आसपासका किनारामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ  ।

तपाइको मत