जिरी नगरमा जिरी मेनिया – २०२५ रोयल एनफिल्ड कार्यक्रम हुने

७ चैत्र ०८१, काठमाडौं । नेपालको स्वीजरल्याण्ड भनेर परिचित प्राकृतिकरुपमा अत्यन्तै मनोरम जिरी नगरमा काठमाण्डू लिजेंड्सले जिरी मेनिया – २०२५ कार्यक्रम गर्ने भएको छ ।

यही चैत्र १५ देखि १७ गतेसम्म जिरी नगरमा जिरी मेनिया – २०२५ नामको कार्यक्रम आयोजना गर्न लागेको काठमाण्डू लिजेंड्सका अध्यक्ष रमेश अवाले बताएका हुन् ।

अध्यक्ष अवालेले कार्यक्रममा नेपालका विभिन्न जिल्लाहरु, मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरु, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरुबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर आउने २०० बढी पर्यटकहरु सम्मिलित हुने बताए ।

उनले सहभागीहरुलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरुले स्वागत गर्ने जानकारी दिँदै कार्यक्रम अवधिमा सहभागीहरु जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरुको भ्रमण गर्ने साथै स्थानीय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तीका प्रख्यात गीत संगीतहरुको मनोरञ्जन, स्थानीय परिकारहरुको स्वाद लिने र कोशेली स्वरुप स्थानीय उत्पादनहरु खरिद गर्ने बताए ।

कार्यक्रम अवधिमा जिरीमा रहेका होटेलहरुमा बाँडिएर रही आपसी भाइचारा साटासाट र स्थानीय बासिन्दाहरुसँग सम्बाद र मित्रता पनि कायम राख्ने पनि अध्यक्ष अवालेले बताए ।
उनले न्युनतम् दर्ता शुल्क तोकिएको यस कार्यक्रम अवधिभर जिरी शहरमा आयोजना हुने विभिन्न खेल र सांस्कृतिक क्रियाकलापहरुमा स्थानीय बासिन्दा र अन्य पर्यटकहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने भएकाले हजारौंको संख्यामा स्थानीय बासिन्दा र अन्य पर्यटकहरु बीच मनोञ्जन कार्यक्रम हुने पनि उनले बताए ।

उनले जिरीको इतिहासमा नै पहिलो पटक हुन लागेको यस प्रकारको मोटरसाइकल पर्यटनलाई साथ सहयोग प्रदान गर्न जिरी नगरपालिका परिवार, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरु प्रति आग्रह समेत गरेका छन् ।

यस कार्यक्रमका प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा.लि. र रोयल एनफिल्ड रहेको अध्यक्ष रमेश अवाले बताए ।