जिल्ला प्रशासन कार्यालय सप्तरीको आधा दर्जन सेवा अनिश्चितकालका लागि स्थगन

२९ असोज ०७७, सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबारबाट आधा दर्जन सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ६ वटा सेवा अनिश्चितकालका लागि स्थगन गरेको हो ।

नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, राहधानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जिप्रकाले यसअघि नै नागरिकता शाखाका कर्मचारीमा संक्रमणको लक्षण देखिएपछि गत २६ गतेदेखि नयाँ नागरिकता वितरण कार्य अनिश्चित कालको लागि स्थगित गरेको छ ।

ती कर्मचारीकोसम्पर्कमा आएका कर्मचारीहरुको परीक्षण गर्दा थप पाँच गरी नौ जना कर्मचारीमा संक्रमण पुष्टि भएको बताइएको छ ।

जसमध्ये पाँच जना सक्रिय संक्रमित रहेको र एक जनाको मृत्यु भइसकेको प्रशासकीय अधिकृत किशोरकुमार रामले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुरका अनुसार अब नियमित सञ्चालनमा रहने सेवाहरु मात्रै प्रवाह हुनेछ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाई सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनमा रहने उनले बताए ।

यस्तै जिप्रकाले जारी गरेको सुचनामा कार्यालयबाट सेवाहरु लिन आउने सेवाग्राहीहरुलाई सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर आउन भनिएको छ ।