छात्र-छात्राको खुसीले भुईंमा खुट्टा छैन्
गोरखा । जीवन ज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको खुसीले भुईंमा खुट्टा छैन् । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन् । नत शिक्षकको स्याबासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु ।
२०७२ मा गएको भूकम्पले विद्यालयको भवन ध्वस्त भएपछि जस्ताको टहरामा पढ्दै आएकी उनलाई अब नयाँ भवनमा पढ्न पाउने भएपछि खुसी बनाएको हो । अब पानी पर्दा जस्ताको छाना बज्दैन र भूँइमा हिलो पनि हुँदैन । उनले खुसी हुनुको कारण खोल्दै भनिन्, ‘अब ठूलो हावा चल्दा स्कूल बिदा हुँदैन् ।’
कक्षा ८ का छात्र आशिष कुमाल पनि विद्यालयको नयाँ भवन बनेकामा औधी खुसी देखिन्छन् । ‘जस्ताको टहरामा पढ्दा घामपानीमा त समस्या हुन्थ्यो नै एउटा कक्षामा पढाएको आवाजले अन्य कक्षामा पनि डिस्टर्व हुन्थ्यो । अब त नयाँ भवनमा राम्रा डेस्कबेञ्चमा पढ्न पाइने भयो’ कुमालले भने ।
कक्षा ५ का छात्र अजय थापा मगर पनि विद्यालयमा नयाँ भवन बनेपछि आफूले भूकम्प नै बिर्सिएको बताउँछन् । ‘चर्केकै भवन अगाडि जस्ताको टहरोमा पढ्दा सधैँ भूकम्पले झस्काइरहन्थ्यो’ मगरले भने, ‘अब त भूकम्पको डर छैन् । कक्षा ३ की छात्रा विनिसा माझी पनि नयाँ भवनमा पढ्न पाउने भएकामा खुसी देखिन्थिन् । उनले नयाँ कक्षामा आफूले बस्ने डेस्कसमेत रोजिसकेको बताइन् ।
अभिभावक पम्फा विकले पनि जस्ताको टहरामा पढ्दा विद्यार्थीहरुले किलामा अड्काएर ड्रेस च्यात्ने, पानी पर्दा हिलोमा लड्ने गरेकामा अब नयाँ भवन बनेपछि खुसी लागेको बताइन् ।
अत्याधुनिक नयाँ भवन विद्यालयलाई हस्तान्तरण
सबैको खुसीको कारण बनेको विद्यालयको नयाँ अत्याधुनिक भवन शुक्रबार निर्माणपश्चात् भव्य कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
चार वर्षदेखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो ।
जापान सरकारको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले करिब ७ करोड ५० लाख लागतको ३ तलाका ३ ब्लकसहितको २४ कोठे नयाँ भवन भव्य समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो ।
नयाँ भवन बालमैत्री, अपाङ्गमैत्री हुनका साथै भवनमा इसिडि कक्षा, कम्प्युटर ल्याव, लाइब्रेरी, किचेन र सोलार प्रणाली जडान गरिएको छ । साथै, अत्याधुनिक शौचालयसमेत निर्माण गरिएको छ । निर्माण कम्पनी एमबी, गौरी पार्वती जेभीले १८ महिनामा भवन निर्माण सम्पन्न गरेको हो ।
२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखामा अवस्थित विद्यालयको भवन भूकम्पले पूर्ण ध्वस्त बनाएपछि विद्यार्थीहरु जस्ताले छाएको र बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । जसले गर्दा घाम र पानीले पठन–पाठनमा समस्या पार्दै आएको थियो । पटक–पटक हुरी बतासले छाना उडाउँदा पढाइ नियमित नहुने समस्या समेत थियो ।
नवनिर्मित भवनको साँचो निर्माण कम्पनीका इञ्जिनियर निशान अधिकारीले पालुङटार नगरपालिकाका नगर प्रमुख दिपकबाबु कँडेललाई र कँडेलले वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले भवनको साँचो विद्यालयका प्रधानाध्यापक बद्री पाण्डेलाई हस्तान्तरण गरेका थिए ।
नवनिर्मित भवन नेकपाका प्रवक्ताद्वारा श्रेष्ठ उद्घाटन
प्रधानाध्यापक पाण्डेलाई विद्यालय व्यवस्थापन समिति अध्यक्षले भवनको साँचो हस्तान्तरण गरेलगत्तै नवनिर्मित भवनको समुद्घाटन प्रमुख अतिथि एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे ।
भवन समुदघाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले सार्वजनिक शिक्षाको सुदृढीकरण नै मुलुकसमृद्धिको आधार रहेको बताए । भूकम्पले भत्केका विद्यालयहरु जर्याकजुरुक उठ्न थालेका भन्दै जीवन ज्योति माविले अब जीवनोपयोगी शिक्षाको ज्योति छर्नुपर्ने बताए ।
विद्यालयलाई अझै ४–५ कोठा र शौचालय अपुग रहेकाले त्यसको निर्माणका लागि पहल गर्ने भन्दै प्रवक्ता श्रेष्ठले विद्यालयमा सूचना प्रविधियुक्त सिकाइका लागि सहयोग गर्न सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए । अब विद्यालयलाई जीवनपयोगी शिक्षा र प्रविधियुक्त सिकाइ केन्द्र बनाउन आफू जुट्ने उनको भनाइ थियो ।
अभिभावकको पहिलो रोजाइको विद्यालय बनाउन नगरप्रमुखको जोड
पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेलले सार्वजनिक विद्यालयको गुणस्तर सुधार गरी अभिभावकको पहिलो रोजाइको बनाउनु पर्नेमा जोड दिँदै सिकाइलाई विज्ञान प्रविधि, सीप र रोजगारीसँग जोड्नु पर्ने बताए । सूचना प्रविधियुक्त सिकाइको विकल्प नभएको भन्दै उनले विद्यालयमा विज्ञान प्रयोगशाला र सूचना प्रविधिको विकासका लागि सहयोग गर्ने आश्वासन दिए ।
पालुङटार नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष गोबिन्द बराकोटीले इकाईले बनाइदिएको नयाँ भवनको संरक्षण गर्दै यसमा विद्यार्थी भर्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा दिने जिम्मा नगरपालिकाले लिने बताए । भौतिक पूर्वाधारको समस्या समाधान पछि अब विद्यालयलाई नमूना बनाउने दिशामा आफूहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।
नगरपालिकाबाट विद्यालयलाई सबैखाले सहयोग गर्न आफू तयार रहेको भन्दै उनले स्थानीय अभिभावकहरुलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पठाउन आग्रह गरे ।
गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको
यस्तै, विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरु भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गरे । अब नयाँ बनेको भवनको संरक्षण गर्ने र यसमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको उनको भनाइ थियो ।
गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने औंल्याए । ‘अब केही समयपछि कोही पनि बालबालिका अस्थायी टहरामा पढ्नु पर्दैन’ उनले भने ।
वडानम्बर ७ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार श्रेष्ठले नवनिर्मित विद्यालय भवनको रेखदेख गर्ने र त्यसमा विद्यार्थी भराउने जिम्मा आफूहरुको भएको बताए ।
प्रधानाध्यापकले भुले भूकम्पको पीडा
विद्यालयका प्रधानाध्यापक बद्री पाण्डेले नयाँ भवनले भूकम्पको पीडा भुलेको बताए । ‘ठूलो हावा चल्नसाथ र ठूलो पानी पर्न साथ विद्यालयमा पठनपाठनमै समस्या हुन्थ्योे’, प्रधानाध्यापक पाण्डेले भने, ‘अब विद्यालय नियमित सञ्चालन गर्न कुनै समस्या नहुने भो ।’
उनले हाल विद्यालयमा इलाइब्रेरी र अडियो भिजुअल कक्षा रहेको भन्दै आगामी दिनमा अझै सूचना प्रविधियुक्त सिकाइ गर्ने योजना सुनाए ।
भौतिक पूर्वाधारको विकाससँगै अब विद्यालयको सम्पूर्णध्यान शैक्षिक सुधारमा केन्द्रित रहेको भन्दै प्रधानाध्यापक पाण्डेले अझै ४–५ वटा कक्षाकोठा, स्टाफ शौचालय, कम्प्युटर र स्मार्टबोर्ड आवश्यक रहेको बताए ।
भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गरे ।
अकलाका प्रधानाध्यापकले दिए बधाई
कार्यक्रममा वडा नम्बर ८ को छिमेकी विद्यालय अकला माविका प्रधानाध्यापक राजेन्द्र अमगाईले पनि नयाँ भवन पाएकामा बधाई दिँदै भवनमा भवनजस्तै सुन्दर शिक्षण सिकाइ गर्न शुभकामना दिएका थिए ।
विद्यालयमा हाल इसिडिदेखि कक्षा १२ सम्म ८८० विद्यार्थी अध्ययनरत् छन् ।
नयाँ भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।


















