१४ बैशाख ०७७, पर्सा । जिल्लाको जी.डी. फर्मास्युटिकल्सले मजदुरहरुलाई जगेडा राखेकामा अन्टुफ प्रदेश २ ले आपत्ति जनाएको छ ।
फर्मास्युटिकल्सले कोरोना भाइरसबाट विश्व नै आक्रान्त रहेको अवस्थामा आफूहरु पनि अछुतो नरहेको भन्दै गतबिहीबार विवादको समेत बहाना बनाई श्रमिक जगेडामा राखिएको सूचना टाँस गरेपछि प्रदेश २ अन्टुफले आपत्ति जनाएको हो ।
पर्सा जिल्लाको परवानिपुरस्थित जीडी फर्मास्युटिकल्स प्रा. लि.का सञ्चालक घनश्याम दास चाचानले उद्योगमा श्रमिकहरुले विवाद गरेको साथै कच्चा पदार्थको अभाव रहेको भन्ने सूचना टाँस गरी श्रमिकलाई जगेडामा राखेको जीडी इकाई कमिटीका अध्यक्ष धर्मेन्द्र ठाकुरले बताए ।
उनले श्रमिकलाई जगेडामा राखेर उद्योगले उत्पादन लगायतका सबै कामहरू बन्द गरेपछि कोरोनाले थलिएका श्रमिकहरु चुल्हो बल्ने समस्या थपिएसँगै आक्रोशित भएको बताए ।
“एकातर्फ राज्यले अत्यावश्यक उद्योगहरु सञ्चालन गर्ने साथै त्यस्ता उद्योगमा काम गर्नेहरुलाई आधारभूत सेवा सुविधा वृद्धि गर्ने समेत बताइरहेको छ तर सञ्चालित अत्यावश्यक औषधि उद्योग जीडी फर्माले श्रमिकलाई दुःख दिने मात्रै होइन राज्यलाई नै चुनौती दिइरहेको छ” इकाई अध्यक्ष ठाकुरले भने ।
अन्टुफ प्रदेश अध्यक्ष अर्जुन चिमोरियाले अत्यावश्यक औषधि उद्योग बन्द नगर्न र मजदुर कटौती लगायतका श्रमिक विरोधी गतिविधि नगर्न इकाईले पटकपटक मौखिक र लिखित अनुरोध गरेता सञ्चालकले एकपक्षीय रुपमा मजदुरलाई जगेडामा राखेको भन्दै आपत्ति जनाए ।
उनले भने, “कोरोना संकट भएता पनि अत्यावश्यक सेवाका नाममा खुलेका मुनाफामुखी उद्योगहरुमा संर्घषको आवश्यकता महशुस भएको छ ।”