जेटियुसीसीद्वारा चिया बगान समेतको पारिश्रमिक निर्धारण र ०७७ श्रावणदेखि लागू गर्न अनुरोध

२४ बैशाख ०७८, काठमाडौं । नेपाली ट्रेड युनियनहरुको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले सरकारलाई चिया बगान समेतको पारिश्रमिक अबिलम्व निर्धारण गर्न र ०७७ श्रावणदेखि नै लागू गर्न अनुरोध गरेको छ ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबारलाई पत्राचार गर्दै सरकारबाट गरिएको श्रमिकहरुको न्यूनतम पारिश्रमिक कानून विपरीत रहेको भन्दै जेटियुसीसीले यस्तो बताएको हो ।

“जेटियुसीसी लगायतको सहमतिमा चिया बगान समेतको पारिश्रमिक अबिलम्व निर्धारण गर्न र न्यूनतम पारिश्रमिक २०७७ श्रावण महिनादेखि लागू गर्न अनुरोध गर्दछौं, जेटियुसीसीका अध्यक्ष जगत सिम्खडाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “सो बमोजिम निर्धारण भई लागू नभए चरणवद्ध रुपमा अन्दोलनमा जान बाध्य हुने कुरा समेत जानकारी गराइन्छ ।”

यस्तै जेटियुसीसीले नेपाल राजपत्रमा बैशाख २० गते प्रकाशित सूचना बदर गरी कानून अनुसार गर्न समेत भनेको छ ।