२८ असार ०७४, काठमाडौं । पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको आजको नागरिक दैनिकमा खबर छ ।
यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाबमात्र हो । ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाकाविभिन्नमुलुकको भ्रमण गरेका हुन् । ‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशपुगेका छन्,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।
दुई महिना अवधिमा १ हजार ४ सय ४२ सरकारी कर्मचारीले ४९ देश भ्रमणका लागि सरकारबाट स्वीकृति लिएको विवरणमा उल्लेख छ । दुई महिनामा ३९ वटा समूहमा गरी १ सय ८ कर्मचारी दक्षिण कोरिया भ्रमणमा गएका छन् । यसपछि ४८ समूहमा गरेर ९० जनाले अमेरिका भ्रमण गरेका छन् ।
विभिन्न मुलुकमा भ्रमण गर्ने कर्मचारीमा अस्ट्रेलिया ६०, अस्ट्रिया ३, बहमास ४, बहराइन ७, बंगलादेश २२, बेल्जियम २२, भुटान १, कम्बोडिया १५, चिली ७ र चीन ६६ जना छन् । यसैगरी डेनमार्क ११, इजिप्ट ६, फ्रान्स ३, जर्मनी ३७, हङकङ १, इरान १२, इजरायल ७, इटाली ४५ र जापान ३४, जोर्डन २३, मलेसिया ७३, मेक्सिको १, मंगोलिया ३३, मोरक्को १ र म्यान्मार ४६ जना कर्मचारी भ्रमाणमा पुगेका छन् ।
त्यस्तै विदेश सयर गर्ने कर्मचारीमा नेदरल्यान्ड ३, नर्वे १, पाकिस्तान २२, फिलिपिन्स ११, पोल्यान्ड १०, कतार १७, साउदी अरब २१, स्लोभाकिया २, स्लोभानिया १, दक्षिण अफ्रिका १०, स्पेन १, श्रीलंका ७१, सुडान ३, स्विट्जरल्यान्ड ६६, थाइल्यान्ड २१, टर्की ८, संयुक्त अरब इमिरेट्स २२, संयुक्त अधिराज्य २०, पोर्चुगल १२ र भियतनाम ६ जना छन् ।
यो तथ्यांक जेठ २ देखि असार २८ गतेसम्मको हो । कर्मचारीमध्ये अधिकांश फिल्ड भ्रमण, एक्पोजर भ्रमण र अवलोकन भ्रमणका लागि विदेश गएको तथ्यांकमा उल्लेख छ ।
भ्रमणमा जाने देशको सूचीमा भारत समावेश नभएकाले विदेश सयर गर्ने कर्मचारीको संख्या अझै बढी हुनसक्छ । अधिकांश भ्रमण उपलब्धिविहीन हुने गरेको अधिकारीहरू बताउँछन् । प्रधानमन्त्रीका कार्यालयका एक अधिकारीले भने, ‘द्विपक्षीय सम्बन्ध मजबुत पार्न र कर्मचारीको वृत्ति विकासमा केही भ्रमणमात्र उपयोगी हुने गरेका छन् ।’
सरकारले स्थानीय तहको चुनावयता वैदेशिक भ्रमणलाई निरुत्साहित गर्न विभिन्न कदम चाले पनि त्यो प्रभावकारी नभएको देखिएको छ ।
विदेश भ्रमणमा सबैभन्दा बढी १ सय १४ जना अर्थमन्त्रालयका कर्मचारी गएका छन् । परराष्ट्र मन्त्रालयका ९२ जनाले विदेश भ्रमण गरेका छन् भने कृषि मन्त्रालयका ८६ जना कर्मचारी गएका छन्।
कर्मचारी विदेश भ्रमणमा जाँदा दैनिक भ्रमण भत्ता र आवास भत्ता पाउने व्यस्था छ। आकर्षक रकम पाइने भएकाले कर्मचारीहरू विदेश जान लोभिने गरेको ती अधिकारीले बताए।
हालको व्यवस्थाअनुसार सचिवले दैनिक दुई सय अमेरिकी डलर भ्रमण भत्ता पाउँछन्। ‘सरकारले कुनै देश महँगो ठानेमा त्यसमा अतिरिक्त ३३ प्रतिशत रकम थपिदिने व्यवस्था छ,’ ती अधिकारीले भने।
अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले उपलब्ध गराउने भ्रमण भत्ता झनै आकर्षक हुन्छ। ती संस्थाले दैनिक भ्रमण भत्ताबापत कम्तीमा तीन सय ५० डलरसम्म उपलब्ध गराउने व्यवस्था छ ।