जेनजी आन्दोलनको घटना अनुसन्धान गर्न दुई अदालतले प्रहरीमा दियो जाहेरी

१८ कार्तिक ०८२, काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न दुई अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएको हो ।

दुबै अदालतका तर्फबाट परिसरमा जाहेरी आएको एसएसपी रमेश थापाले जानकारी दिए ।

उनले भने, ‘अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्छ ।’

जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी कार्य सुरु भएको प्रहरीले बताएको छ ।

गत भदौ २३ र २४ मा सर्वोच्च अदालतमा प्रदर्शनकारीले आगजनी गर्दा महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।