१७ फागुन ०८१, काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको खबर छ ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार करिब १० मिनेटसम्म कडा बहस चलेसँगै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको हो ।
सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार कडा बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो ।
त्यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेश मन्त्री मार्को रुबियो र माइक वाल्ट्जसँग छलफल गरेका थिए ।
छलफलका क्रममा ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको प्रतिक्रिया दिएका थिए ।
त्यसपछि उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीकोमा आफैं गएर अब उनी फर्कने बेला भइसकेको सन्देश दिन आदेश दिएका थिए ।
उनीहरूसँग जेलेन्स्कीले विवाद मिलाउन सकिने र फेरि संवाद गर्न चाहेको बताए पनि उनले त्यस्तो अवसर पाएनन् ।
त्यसपछि दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको थियो ।