३० असार ०७४, काठमाडौं । नेपाली कांग्रेसले नेता रामहरि जोशीको निधनमा तीन दिन शोक मनाउने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा शुक्रबार बसेको कांग्रेसको आकस्मिक बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै असार ३०, ३१ र साउन १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र आइतबार एकदिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र २००७ सालको ऐतिहासिक जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गरेका जोशीको शुक्रबार साँझ निधन भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको आकस्मिक बैठकले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिन उनको पार्थिव शरिरलाई कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।