२० असार, अर्घाखाँची । राष्ट्रपति विद्या भण्डारीले ज्यान मुद्दामा दोषी ठहर भई हाल अर्घाखाँची कारागारमा रहेका रुद्रप्रसाद पराजुलीलाई बाँकी कैद सजायँ माफी दिएकी छन् ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा चार वर्षअघि एक व्यापारीलाई गोली हानी हत्या गर्न खोजेको भन्दै अदालतले दोषी ठहर गर्दै सात वर्ष कैद फैसला गरेको पराजुलीलाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले कैद सजायँ माफी दिएकी हुन् ।
०६९ फागुनमा सन्धिखर्कमा सुनचाँदी व्यवसायी संघका सचिवसमेत रहेका व्यापारी ताराबहादुर सुनारमाथि गोली हानेर हत्या प्रयासका मुख्य योजनाकार पराजुली थिए ।
सुनारमाथि सन्धिखर्क–गोरुसिंगे सडक अन्तर्गत नरपानीको जंगलमा गोली प्रहार भएको थियो । सुनारको बायाँ छातीको तल्लो भागमा गोली लागेको थियो । प्रहरीले घटनामा संलग्न भएको भन्दै कपिलवस्तु तिलौराकोट वर्मेली टोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनारलाई पक्राउ गरेको थियो ।
राजु र लक्ष्मणले रुद्र पराजुलीले पेस्तोल दिएको र ताराको हत्या गर्न लगाएको बयान प्रहरीलाई दिएका थिए । सोही बयानका आधारमा प्रहरीले रुद्रलाई पनि पक्रेर अनुसन्धान अगाडि बढाएको थियो ।
रुद्र र तारा दुबै सन्धिखर्क मिडिया चोकमा एउटै घरमा जोडिएको दुई वटा सटरमा व्यापार गर्दै आएका थिए । तारासँग लिएको ऋणका कारण रुद्रले उनको हत्या गर्ने षड्यन्त्र गरेको प्रहरी अनुसन्धानको ठहर थियो ।
राजु र लक्ष्मण जेलमै भए पनि राजनीतिक लबिङका आधारमा मुख्य योजनाकार पराजुली भने राष्ट्रपतिबाट माफी पाउन सफल भएका छन् । हाल अर्घाखाँची कारागारमा रहेका पराजुलीलाई बाँकी कैद सजायँ माफी भएको राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।