
झापा । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले झापा गाउँपालिकामा रहेका सन्थाल र दलित समुदायका बालबालिकालाई राहत सामग्री वितरण गरेकाे छ ।
महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की, धादिङ २ (ख)बाट निर्वाचित सांसद समेत रहेका महासचिव जगत सिंखडाले संयुक्त रुपमा सन्थाल र दलित बालबालिकालाई राहत सामग्री वितरण गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट महासंघले तराई-मधेशकाे जाडो र शितलहरमा कष्टकर जीवनयापन गरिरहेका सन्थाल र दलित समुदायका १४५ जना बालबालिकालाई बुधबार राहत सामग्री वितरण गरिएको सांसद सिंखडाले जानकारी दिए ।

उनले राहत वितरण कार्यक्रममा बालबालिकाहरुलाई जाडोमा लगाउने जुत्ता, मोजा साथै कापी, कलम र टिफिन बक्स वितरण गरिएको बताए ।
कापी, कलम, टिफिन बक्स, जुत्ता र माेजा लगायतका राहत सामग्री पाएसँगै बालबालिकाहरू खुसीले जाडाे पन्छाउँदै सामुहिक फाेटाे खिचाउन तातेका थिए ।













