१२ कार्तिक ०७४, राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको टिकट वितरणमा पार्टीले भेदभाव गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सभापति लक्ष्मण यादव आमरण अनसन बसेका छन् ।
राजपा क्षेत्र नं. २ का सभापति रहेका यादवले नातावाद, पहुँचवाला र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गर्न खोजेका कारण आमरण अनसन सुरु गरेको बताएका छन् ।
२०७० सालको मधेश आन्दोलनमा क्षेत्रीय आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका यादवले जनआन्दोलन र मधेश आन्दोलनमा अगुवाई गरेकाहरुलाई पाखा लगाई पार्टीले आसेपासे, पहुँचवाला र ब्यक्तिवादका आधारमा टिकट वितरण गर्न खोजेकाले विरोध स्वरुप आमरण अनसन बसेको बताए ।
२०४८ सालदेखि तत्कालिन सदभावना पार्टीमा रही सक्रिय राजनीतिमा लागेका यादव हालै सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका आकांक्षी थिए । तर, नेतृत्व वर्गले आगामी प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिँदै उनको सट्टामा शम्भु यादवलाई मेयरको टिकट दिएको थियो ।
प्रदेश सभाको निर्वाचनमा समेत टिकटबाट बञ्चित गराउने चलखेल सुरु भएकाले बाध्य भई ७ वुँदे माग अघि सार्दै आमरण अनसन थालेको उनको भनाई छ ।
स्थानीय गजेन्द्र चौक हाताभित्र आमरण अनसन बसेका यादवले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जनआन्दोलन र मधेश आन्दोलनमा सक्रियय अगुवाई गरेकाहरुलाई टिकट दिनु पर्ने प्रमुख माग अघि सारेका छन् ।
राजपा सप्तरीका संयोजक सुनिल कुमार झाले पार्टीभित्र आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न कठिन भएको भन्दै आफूले सबैको सल्लाहमा पुराना र निष्ठावान कार्यकर्तालाई नै सिफारिसमा प्राथमिकता दिएको बताएका छन् ।