टिभिएसबाट निश्कासित श्रमिकको पुनर्वहाली नगरिए मजदुरका संगठनहरु एक भएर संघर्षमा जाने

५ फागुन ०७७, काठमाडौं । जगदम्वा मोटर्स अन्तर्गत एसजी इन्जीनियरिङ प्रा.लि. ‘टिभिएस’ बाट निश्कासित मजदुरहरुले पुनर्वहालीको माग गर्दै सुरु गरेको रिले अनसनलाई ट्रेड युनियन सम्बद्ध विभिन्न संघ-संगठनले ऐक्यवद्धता जनाएका छन् ।

एसजी इन्जीनियरिङ प्रा.लि.मा कार्यरत २० जना श्रमिकहरुलाई व्यवस्थापनले बिनाकारण निश्कासन गरेपछि चरणबद्ध संघर्षको कार्यक्रमअन्तर्गत अखिल नेपाल अटोमोवाईल्स मजदुर संघको व्यानरमा सुरु गरिएको रिले अनसनलाई मजदुरका संगठनहरुले ऐक्यवद्धता जनाएका हुन् ।

काठमाडौंको जडिबुटीस्थित एसजी इन्जीनियरिङको ‘टिभिएस’ प्रतिष्ठानमा यही फागुन २ गतेदेखि सुरु गरिएको रिले अनसनलाई मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघका कोषाध्यक्ष घनश्याम ठकुरी, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष माधव पाण्डे, उपध्यक्ष कुमार पन्त, पसल तथा सेल्स मजदुर संघका अध्यक्ष भेषराज दाहाल, अखिल नेपाल सञ्चार तथा छापाखाना मजदुर संघका अध्यक्ष रमेश केसी, उपध्यक्ष अर्जुन गौतम, अखिल नेपाल सरसफाई मजदुर संघका अध्यक्ष धनु दाहाल, अखिल नेपाल घरेलु मजदुर संघका अध्यक्ष संगिता बानिया लगायतले ऐक्यवद्धता जनाएको अटोमोवाईल्स मजदुरका केन्द्रीय अध्यक्ष पुरन्जन गिरीले जानकारी दिए ।

अध्यक्ष गिरीका अनुसार निश्कासित २० जना श्रमजीवी मजदुरहरुलाई बिनाशर्त पुनर्वहाली नगरिए रिले अनसनमा ऐक्यवद्धता जनाउने संघ तथा संगठन र मजदुर नेताहरुले श्रमिकका हक अधिकारका प्राप्तिका लागि ऐक्यवद्धता सँगसँगै संघर्षमा समेत एकढिक्का भएर जाने प्रतिवद्धता जनाएका छन् ।