१६ साउन ०७७, काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ-नेपाल सम्बद्ध परिषद (आईटीयुसी न्याक)ले यही साउन २६ गतेदेखि काठमाडौंमा हुने टीटीएम मोडुल–२ तालिम भदौमा सञ्चालन गर्ने भएको छ ।
आईटीयुसी न्याकका कार्यक्रम प्रबन्धक गोपाल घिमिरेले कोरोना संक्रमण दर बढिरहेकाले प्रशिक्षक प्रशिक्षण तालिम आगामी भदौ महिनाको ११ देखि १४ गतेसम्म हुनेगरी सारिएको जानकारी दिएका हुन् ।
‘तालिमको उद्देश्य प्रदेश र स्थानीय तहसम्म ट्रेड युनियन, मजदुरहरुलाई सबल, सक्षम र सुदृढ गर्ने हो । स्थानीय तहसम्म नेतृत्वलाई जति सुदृढ गर्न सकिन्छ त्यति नै आन्दोलन प्रभावकारी हुन्छ,’ प्रबन्धक घिमिरेले भने, ‘मजदुरका विषयहरु जति पनि छन् ती विधिसम्मत गर्न, गराउन र उठाउन यसले दिशा निर्देश गर्नेछ ।’
यस्तै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष समेत रहेका आईटीयुसी न्याक सल्लाहकार परिषद सदस्य विदुर कार्कीले टीटीएम मोडुल–१ तालिम लिइसकेका महासंघका सदस्यहरुलाई मोडुल २ प्रशिक्षण दिइने बताए ।
उनले भने, ‘सहभागीकोस्तर निर्धारण, सिकाईकोस्तर निर्धारण, उत्प्रेरणा प्रदान गर्ने, टाक्स एनालाइसिस, लेसन प्लान, योजना र प्रस्तुतीकरण साथै सामग्री व्यवस्थापन लगायतका विषयमा प्रशिक्षक प्रशिक्षार्थीले सिक्ने छन् ।’
उनले मूलतः यस तालिम ‘विधि शिक्षण’ भएकाले प्रशिक्षार्थीलाई विधिमा दक्ष बनाउने तालिमको मूल उद्देश्य रहेको बताए ।
यसको उपयोगिताबारे चर्चा गर्दै उपाध्यक्ष कार्कीले ट्रेड युनियन र श्रमिकलाई व्यवस्थापकीय विषयमा पोख्त बनाइने बताए ।
टीटीएम मोडुल–२ तालिममा नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघका टीटीएम मोडुल–१ तालिम लिइसकेका प्रशिक्षक प्रशिक्षर्थीहरु सहभागी हुनेछन् ।