ट्रेड युनियनसँग भएको सहमतिविपरीत रोजगारदाता, दवावमूलक कार्यक्रम गर्ने जेटियुसीसीको निर्णय

४ भदौ ०७७, काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले हालै ट्रेड युनियनसँग गरेको सहमतिविपरीत रोजगारदाताहरूले मजदुर निश्कासन गर्ने कार्य गरिरहेको भन्दै आवश्यक दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

रोजगारदाताहरुले ट्रेड युनियनसँग भएको सहमतिविपरीत श्रमिकहरुलाई रोजगारीबाट निश्कासन गर्ने कार्य गरिरहेको भन्दै जेटियुसीसीको बिहीबार बसेको बैठकले रोजागारी गुमाएकाहरुको तथ्याङ्क संकलन गरी आवश्यक दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले लिएका निर्णयबारे अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले भने, “गत साउन १३ गते श्रमिकको पारिश्रमिक भुक्तानी, रोजगारी तथा स्वास्थ्य सुरक्षा लगायतका ७ बुँदामा रोजगारदाता र ट्रेड युनियनहरुबीच भएको सहमतिबिपरीत रोजगारदाताहरुले कोभिड–१९ कारण बनाएर दफा १४५ समेतको दुरुपयोग गरी श्रमिकहरु निश्कासन गर्ने कार्य गरिरहेकाले कार्यस्थलको बारेमा जानकारी लिने र दवावमूलक कार्यक्रम गर्ने निर्णय लिइएको छ ।’

उनले आगामी भदौ ७ गते आइतबारभित्र देशभरका औधोगिक प्रतिष्ठानहरुबाट निश्कासित श्रमिकहरुको तथ्याङ्क र कार्यस्थलको बारेमा आवश्यक जानकारी लिई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तथ्याङ्कसहित ध्यनाकर्षण पत्र बुझाउने र समस्या हल नभए दवावमूलक कार्यक्रमहरु गरिने जानकारी दिए ।

नेपाली श्रम बजारमा रोजगारदाता र ट्रेड युनियनबीच असल श्रम सम्बन्धमा दरार आउनु बिडम्बना रहेको भन्दै अन्टुफ अध्यक्ष सिम्खडाले अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका ट्रेड युनियनहरुको साझा र मूलतः जेटीयुसीसीको धारणा श्रमिकहरुको रोजगारीको सुनिश्चितता रहेको बताए ।

उनले रोजगारदाताहरुलाई बाहनाबाजी गरेर श्रमिकको रोजीरोटी नखोस्न चेतावनी दिँदै यही रवैया जारीरहे अखिल नेपाल ट्रेड युनियन महासंघ साथै जेटीयुसीसी मुकदर्शक भई नबस्ने बताए ।