डलर तस्करी आरोपित पाइलटलाई प्रतिदिन २ सय अमेरिकी डलर भत्ता !

तत्काल विदेश नपठाउन सरकारको निर्देशन

९ भदौ ०७४, काठमाडौं । विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

अवालेको विदेश भ्रमणको खबर सार्वजनिक हुनासाथ मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक गोपाल बराल, उपमहानिर्देशक यज्ञ कोइराला र अनुसन्धान अधिकृतसँग छलफल गरेर अवालेको उडान रोक्न निर्देशन दिइएको हो ।

विदेश पठाउने निर्णय कानुनविपरीत

‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई तालिममा सिंगापुर पठाउने काम तत्काल रोक्न लिखित निर्देशन दिएका छौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले बिहीबार भने, ‘गम्भीर अभियोग लागेका अभियुक्तलाई विदेश पठाउने निर्णय कानुनविपरीत छ । यो रोकिनै पर्छ ।’

बिहीबार क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार एक राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो ।

क्याप्टेन अवालेले भत्ताबापत बुझे २ हजार अमेरिकी डलर

क्याप्टेन अवाले बिहीबार राति साढे ११ बजे निगमकै जहाजबाट मलेसियाको क्वालालम्पुर जाने तयारीमा थिए । अवालेले सिंगापुर तालिममा जान बिहीबारै निगमबाट २ हजार अमेरिकी डलर (२ लाख रुपैयाँ) भत्ताबापत बुझेका छन् ।

‘बिहीबार दिउँसो ४ बजे निगम केन्द्रीय कार्यालयमा हामीले निर्देशन पठायौं र निगमले पत्र प्राप्त भएको जानकारी गराएको छ,’ आचार्यले भने, ‘निर्देशनविपरीत क्याप्टेन अवाले सिंगापुर गए भने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही हुन्छ । अवाले कुनै हालतमा सिंगापुर जान पाउँदैनन् ।’

उनले बिहीबार बुझेको रकम १० दिन सिंगापुर बस्दाको भ्रमण भत्ता हो । उनलाई प्रतिदिन २ सय डलर (२० हजार रुपैयाँ) भत्ता दिने निर्णय गरिएको थियो ।

क्याप्टेन अवाले २०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । नियमित ड्युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेको विमानस्थल प्रहरीले शंका लागेर ब्याग खानतलासी गर्दा अबैध डलर बरामद भएको थियो । एक महिना हिरासतमा बसेपछि उनी धरौटीमा रिहा भएका थिए । त्यसयता विभागले उनीबारे अनुसन्धान गरिरहेको छ ।

अपरेसन विभागको सिफारिसपछि सिंगापुर पठाउने निर्णय

‘पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, राजस्व अनुसन्धान, अदालत वा अख्तियार कतैबाट पनि क्याप्टेन अवालेलाई निलम्बन गर्न निर्देशन आएको छैन,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘त्यही भएर लाइसेन्स अद्यावधिक गर्न अवालेलाई सिंगापुर पठाउने निर्णय गरेका हौं ।’

स्रोतका अनुसार निगमको अपरेसन विभागको सिफारिसपछि महाप्रबन्धक कंसाकारले अवालेलाई सिंगापुर तालिममा पठाउने निर्णय गरेका थिए । धरौटीमा रिहा भएलगत्तै पनि कंसाकारले अवालेलाई निलम्बन गर्नुको सट्टा उल्टै जहाज उडाउन दिने निर्णय गरी प्राधिकरणसँग अनुमति मागेको आजको नागरिक दैनिकमा खबर छ ।

तपाइको मत