७ साउन, काठमाडौं ।
बिहीबार चावहिलस्थित बागेश्वरी मन्दिर नजिकै बागेश्वरी फर्मामा पुगेका करिब १७ वर्षका युवकले गोजीबाट २ सय रुपैयाँ निकाले, पसलेले २ सयमा न कुनै समस्या, न कुनै डाक्टरको प्रेस्किप्सन, केही ट्याब्लेटहरु दिए लगतै अवैधरुपमा औषधि विक्री गरेको आरोपमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बागेश्वरी फर्माकी सुजाता केसीलाई पनि पक्राउ गरेको छ ।
दुई सय रुपैयाँमा तीन प्रकारका ट्याब्लेटहरु पाएपछि उनी औषधि पसलबाट बाहिरएका मात्रै के थिए, लागुऔषध नियन्त्रण ब्युरोको फन्दामा परे । उनले ल्याएको औषधि ‘क्लोनोज स्पासमो’ नामको दुखाइमा प्रयोग हुने औषधि थियो, जुन औषधि डाक्टरको सिफारिसविना प्रयोग गर्न पाइँदैन ।
यो औषधि लागुऔषध दुव्र्यसनीहरुका लागि गतिलो नशा बन्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका युवकले विगत एक वर्षदेखि त्यही औषधि लागुऔषधका रुपमा प्रयोग गर्न थालेको प्रहरीलाई बताए ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीबार गैरकानुनी तरिकाले लागुऔषध दुव्र्यसनीहरुलाई औषधि विक्री गर्ने पसलहरुमा छापा मारेको छ । फर्मा पनि अर्कैको नाममा दर्ता रहेको भेटिएपछि औषधि व्यवस्था विभागले औषधि शीलसमेत गरेको छ ।
ट्रामाडोल नामको ट्याब्लेट विक्री गरिरहेको अवस्थामा ब्युरोको टोलीले चाबहिलको जोशी फार्मेसीको सुन्दरकाजी जोशी र नुच्छेलाल श्रेष्ठलाई पक्राउ गरेको छ ।
त्यस्तै पूर्वसूचनाका आधारमा चावहिलको चुच्चेपाटीस्थित रुपन्देही ड्रग हाउसले पनि डाक्टरको सिफारिस बिना लागुऔषध विक्री गर्ने औषधि पसलका सञ्चालक रामबहादुर केसीलाई पक्राउ गरेको छ ।
त्यस्तै भीमसेनगोलास्थित शेरावली पोलिक्लिनिकबाट पनि ब्युरोको टोलीले ओपिडोल, स्पास्मो र ट्राफ्लास नामको औषधि अवैधरुपमा विक्री गर्ने रोशन सापकोटालाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले बरामद गरेको ओपिडोल, स्पास्मो, ट्राफालास, ट्रमाडोल नामका ट्याब्लेटहरु औषधि नै हुन । तर, यी औषधिहरु डाक्टरको सिफारिस बिना विक्री वितरण गर्न पाइँदैन ।