१० असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग सहितका चारबुँदे माग राख्दै नवौं आमरण अनसन सुरु गरेका छन् ।
डा.केसी सोमबार अपराहृनबाट अनसनमा बसेका हुन् । डा. केसीले भने, ‘लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया सुरु नभएसम्म अनसन तोड्दिन ।’
चारबुँदे मागहरुमा आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजन नारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने माग राखेका छन् ।
यस्तै शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने र यसअघिको सहमतिअनुसार आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीले अघि सारेका छन् ।
सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै उनले अब प्रक्रिया सुरु नभइ अनसन नरोकिने बताए । डा.केसीले अहिले सरकार माफियाहरुले चलाएको आरोप समेत लगाए ।