डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

२५ पुस ०७४, काठमाडौं । अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

मंगलबार बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र लगायतको उपस्थिति थियो । पूर्वप्रधानमन्त्री भट्टराईले मंगलबार बिहान नै सिंहदरवार वृत्त पुगेर केसीलाई भेटेका थिए ।

त्यसैगरी, कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् ।

प्रदर्शनमा कांग्रेस नेता गगन थापाले आफूलाई पनि अदालतको मानहानीमा मुद्दा चलाउन चुनौती दिँदै भने -‘श्रीमान् ! डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई लगाइयोस् । यो कुनै व्यक्तिसँग सम्बन्धित निजी विषय होइन, अदालतको सम्मान बढाउनका लागि हो ।’ उनले भने, ‘तत्काल रिहा गरियोस्। उनका मागका बारेमा र अदालतका बारेमा उठाएका प्रश्नमा भाग्ने होइन, छानबिन होस्। दूधको दूध पानीको पानी छुट्याइयोस्।’

प्रदर्शनमा बोल्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केसीलाई पक्राउ गर्नु निन्दनीय र लाजमर्दो विषय भएको टिप्पणी गर्दै  नेपालमा न्यायालयदेखि हरेक संस्थामा राजनीतिकरण भएको तर्क गरे । उनले भने-‘सरकारका लागि यो लाजमर्दो विषय हो । केसीलाई सक्दो छिटो रिहा गर्नुपर्छ र उनका गम्भीर आरोपका बारेमा छानबिन गर्नुपर्छ ।’

सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए ।

अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

तपाइको मत