२६ पुस ०७४, काठमाडौं । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ । दुबै तर्फका वकिलबाट बहस सकिएसँगै आजै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको छ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए भने केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरेका छन् ।
बहसका क्रममा केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन र उनीमाथि लागेको आरोपबारे बोल्न दिन माग गरेका छन् ।
इजलासबाट निस्कदै गर्दा केसीले आफूलाई माया गरेर मुद्दा खारेज नगर्न अनुरोध गर्दै उनले भने, ‘भ्रष्ट प्रध्यानन्यायधीश नहटेसम्म मेरो अभियान जारी रहन्छ । म कुनै व्यक्तिको विरुद्ध उत्रिएको होइन, प्रबृत्तिको विरुद्ध उत्रिएको हुँ ।’