डिभी परेर अन्तर्वार्ता दिन दूतावास पुगेका दुई युवा पक्राउ

 ६ मंसिर ०७४, काठमाडौं । नेपालस्थित अमेरिकी  दुतावासमा डिभी परेर अन्तर्वार्ता दिन पुगेका र्दुइ युवा पक्राउ परेका छन् ।

सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तान र  ताप्लेजुङ खेवाङ ३ का ३८ वर्षीय भुवानी प्रसाद भट्टराई शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको अभियोगमा सोमबार पक्राउ परेका हुन् ।

उनीहरूले पेश गरेको शैक्षिक कागजात नक्कली भएको पुष्टि भएपछि दूतावासले प्रहरीलाई खबर गरेको थियो ।अन्तर्वार्ता दिइरहेका बेला महानगरीय अपराध महाशाखाबाट खटेको प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

मोक्तान र भट्टराईसहित उनको कागजात बनाउन सहयोग गर्ने अन्य ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आठै जनालाई महानगरीय अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कालिकोटका विशाल जंग कार्की, सुनसरीका सुरेश शाही, अभय पोखरेल, काठमाडौं चण्डोल घर भइ सेक्युर्ड कन्सल्ट्यान्सीमा काम गर्ने अनिल श्रेष्ठ पनि पक्राउ परेका छन् ।

त्यस्तै काभ्रेका देवराज तामाङ र काठमाडौं मनमैजुका सन्तोष कुमार तिवारीलाई पनि प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गरेको भन्दै पक्राउ गरेको छ।

उनीहरुले डिभी  परेपछि अमेरिका जान प्लस टु गरेको शैक्षिक प्रमाणपत्र चाहिने भएकाले नक्कली बनाउन दिएको प्रहरी समक्ष बताएका छन् ।

नेपालस्थित अमेरिकन दूतावासमा डिभी परेपछि  फस्ट लेटर आयो, डकुमेन्टहरू  पेश गरे । केही महिनापछि सेकेन्ड लेटर आएपछि उनीहरुलाई अन्तर्वार्ता दिन  दूतावासमा बोलाइएकाे थियो।

यसअघि महाशाखाको टोलीले नक्कली कागजात पेश गरी जापान र कोरिया पठाउने गिरोहलाई पक्राउ गरेको थियो ।

तपाइको मत