१३ माघ ०७४, चितवन । टिके भनेर चिनिने डिल्लीबजार कारागारबाट भागेका कैदी टिकाबहादुर थापा पक्राउ परेका छन् ।
चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि टिके र प्रहरी टोलीबीच गोली हानाहान हुँदा जवाफी फायरिङमा टिके घाइते भएका छन् ।
चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई हात र तिघ्रामा दुई गोली लागेको छ ।
उनलाई स्थानीय अस्पतालमा समान्य उपचार गरेर काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ ।
विभिन्न अपराधिक घटनामा संलग्न टिके ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए ।
टिके मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।
ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको एसपी थापाले जानकारी दिए ।














