राजविराज । राजविराज । गाउँ जोगाउन बाँध मर्मत् गर्दै गर्दा अचानक आएको बाढीले बगाएर बेपत्ता भएका राजविराज नगपालिका १५ देउँरी भरुवाका ५५ बर्षीय डोमी यादवको अवस्था अझै अज्ञात छ ।
बुधबार साँझसम्म उनको अवस्था खुल्न सकेको छैन् । गत बिहीबार घर पूर्वको खाडो नदीको तटबन्दमा सुरक्षाकर्मीसँगै बाढी नियन्त्रणको काम गरिरहेका बेला बाढीले यादवलाई वेपत्ता बनाएको थियो ।
यसै बिच मृतक परिवारलाई सम्वेदना दिन बुधबार डोमीको घर पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार र आफनो पार्टी दुवै तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
लगातार खोजी कार्य जारी राखेका छौं तर फेला पर्न सकिएको छैन् सप्तरीका एसपी मुकेश सिंहले भने, तर पनि स्रोत साधनले भ्याएसम्म खोज्ने प्रयास जारी राखेका छौं ।
वेपत्ताको शव फेला नपरेपनि अब उनी जिवित नरहेको अनुमान गर्दै परिवारले परम्पराअनुसार काजक्रिया सुरु गरेका छन् ।
पत्नी धना देवीले भनिन्, ‘अब जिवित फेला पर्न सक्ने सम्भावना नरहेकाले धार्मिक विधिअनुसार काजििक्रया सुरु गरेका छौं ।
सुरक्षाकर्मीकै आग्रहमा तटबन्द मर्मतमा सघाउन पुगेका यादव बेपत्ता भएपछि पूरै परिवार शोकमा डुबेका छन् ।
डोमी वेपत्ता भएको २ दिनपछि जिल्ला दैवी प्रकोप उद्घर समितिले जिवित फेला पार्न सक्ने सम्भावना न्यून रहेको ठहर गर्दै १० लाख रुपैया क्षति पूर्तिका लागि केन्द्रिय दैवी प्रकोप उद्घार समिति समक्ष सिफारिस गरेपनि हालसम्म एक रुपैयाँ पनि प्राप्त नभएको यादव पत्नी धना देवीले बताइन् ।
बाढी प्रभावित क्षेत्रका बासिन्दा धमाधम बिरामी पर्दै, अस्पतालमा बेडको अभावमा भुर्इंमै उपचार
राजविराज । बाढीको कटान र डुबानबाट विस्थापित भई चौर, विद्यालय र सडक किनारमै पाल टागेर रात बिताइरहेका बालबालिका तथा बृद्घबृद्घा बिरामी पर्न थालेका छन् ।
विस्थापित मात्र होइन, बाढी प्रभावित क्षेत्रका बस्तीमा समेत झाडापखाला, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास लगायतका रोग देखिन थालेको स्थानीयले बताएका छन् ।
जिल्लाको बनरझुला, कुशहा, सकरपुरा, रम्पुरा मल्हनियाँको बर्साइन, कोइलाडी तिलाठी लगायतका ग्रामिण क्षेत्रका यस्तो समस्या देखिएको छ ।
बनरझुलाका ३ सय परिवार विस्थापित भएर बाँध छेउमा विगत ४ दिनदेखि पाल मुनी बस्दै आइरहेका छन् । त्यस्तै रम्पुरा मल्हनियाको डलवा गाउँमा विगत ५ दिनदेखि सडक किनारमै पालमुनि बस्दै आएका करिब १ सय विस्थापित परिवार मध्ये अधिकांश बिरामी पर्न थालेका छन् ।
अधिकांशले शुद्घ खानेपानी, खाना र औषधिको अभाव रहेको गुनासो गरेका छन् । डुवान र कटानको चपेटामा परेकाहरु धमाधम बिरामी पर्न थालेपछि जिल्लास्थित स्वास्थ्य चौकी तथा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि आउने विरामीका चाप ह्वात्तै बढेको छ ।
बिरामीको चाप बढेपछि बेडको अभावमा भुईंमै राखेर भएपनि उपचार सेवा प्रदान गरिरहेको आकस्मिक कक्षका सिनियिर अहेव जय कृष्ण गुरमैताले बताए ।