ढाँटेरै लिए उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति

काठमाडौं । सरकारी कर्मचारीको लापरबाहीका कारण गलत विवरणमा तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको खुलासा भएको छ ।

स्वास्थ्य, गृह र श्रम मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण गलत विवरण पेस गरेका तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएका हुन्  ।

कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पतालका लागि तीन जना उत्तर कोरियाली चिकित्सकको श्रम स्वीकृति निकाल्न प्रयोग भएको कागजपत्रमा कहीँ–कतै पनि उनीहरू उत्तर कोरियाली चिकित्सकहरू भएको उल्लेख नभएको आजको अन्नपूर्णपोष्टमा खबर छ ।

उनीहरूले राहदानी त पेस गरेका छन् तर सरकारी कर्मचारीले समेत उत्तर कोरियाको राहदानी नचिन्दा उत्तर कोरियाली चिकित्सकले बिना विस्तृत अनुसन्धान श्रम स्वीकृति लिएका थिए । संयुक्त राष्ट्रसंघले उत्तरकोरियामाथि आणविक हतियारको जथाभावी उत्पादन र परीक्षण गरेको भन्दै कडा नाकाबन्दी गरेको छ ।

त्यसको बाबजुत नेपालमा भने उत्तर कोरियालीले निर्वाध रूपमा बिजनेस भिसामा समेत काम अवैध रूपमा गर्दै आएका छन् । स्वास्थ्य, गृह र श्रम विभागका कर्मचारीले कुन मुलुकका चिकित्सक हुन् भन्ने पहिचान र आवश्यक सोधखोज नगरीकनै श्रम सहमति दिएका हुन् । उनीहरूको कार्य सहमतिका लागि स्वास्थ्य मन्त्रालयले गृहलाई लेखेको पत्रमा समेत उनीहरू उत्तर कोरियाली चिकित्सक भएको उल्लेख छैन । सरकारी रेकर्डमा कुनै पनि उत्तर कोरियाली नागरिकले श्रम स्वीकृति लिएको देखिँदैन ।

गृह मन्त्रालयले श्रम स्वीकृतिका लागि कुनै पनि उत्तर कोरियाली चिकित्सकहरूलाई कार्य सहमति नदिएको बताउँदै आएको थियो । श्रम विभागका कर्मचारीले समेत आफूहरूले कुनै पनि उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति नदिएको जिकिर गरेका थिए । श्रम विभागको रेकर्डमा समेत उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति दिएको देखिँदैन । श्रमको रेकर्डमा दक्षिण कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको देखिन्छ ।

अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्राचार गरी त्यसबारे छानबिन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले तीन जना उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति दिएको र तनहुँको दमौलीमा रहेको ‘ने कोर्यो’ अस्पतालमा बिजनेस भिसा लिएका उत्तर कोरियालीले चिकित्सकीय काम गरिरहेको बारे छानबिन भइरहेको बताए । प्रवक्ता सुवेदीले भने, ‘हामीले सम्बन्धित निकायमा छानबिनका लागि लिखित निर्देशन दिइसकेका छौं ।’

गृह मन्त्रालयका एक अधिकारीले उत्तर कोरियालीलाई कार्यसहमति नदिनू भन्ने निर्देशन कहीँ–कतैबाट नआएको र ती तीन जना उत्तर कोरियाली नागरिकले चाहिँ गलत विवरण पेस गरेर श्रम स्वीकृत लिएको पाइएको बताए । गृह मन्त्रालयका ती अधिकारीले उनीहरूले आफूहरू उत्तर कोरियाली चिकित्सक भनेरै प्रक्रिया अघि बढाएको भए पनि श्रम स्वीकृति पाउँथे तर उनीहरूले कोरियाली चिकित्सक मात्र भनी कागजपत्र पेस गरेर कर्मचारीलाई झुक्याएको बताए ।

कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पतालका सञ्चालनको सहयोगमा ती तीन जना उत्तर कोरियाली नागरिकले श्रम विभागबाट श्रम स्वीकृति लिएको फेला परेको हो ।

सेफरमा अहिले एक जना उत्तर कोरियाली चिकित्सक कार्यरत छन् । अन्य दुई पति-पत्नी थिए । केही महिनाअघि पतिको निधन भए पनि पत्नीले समेत उक्त अस्पताल छाडेर उत्तर कोरिया फर्किसकेकी छन् । ती तीनै जना चिकित्सकले सेफर अस्पतालको सिफारिसमा श्रम स्वीकृति लिएका हुन् । सेफरका सञ्चालकले समेत उनीहरू उत्तर कोरियाली चिकित्सक भएको बारे कुनै निकायमा खबर गरेनन् ।

सरकारी कर्मचारीले उत्तर कोरियाको राहदानीसमेत चिनेनन् । श्रम विभागका कर्मचारीले उनीहरूको अन्तर्वार्ता लिँदासमेत उत्तर वा दक्षिण कोरियाली हुन् छुट्याउन सकेनन् । श्रमले उनीहरूलाई दक्षिण कोरियाली नागरिकका रूपमा श्रम स्वीकृति दिएको थियो ।

श्रम विभागको रेकर्डमा समेत उनीहरू दक्षिण कोरियाली चिकित्सक नै हुन् भन्ने उल्लेख छ । नेपालस्थित उत्तर कोरियाली दूतावासको रोहवरमा सेफर अस्पताल र उत्तर कोरियाली चिकित्सकको सम्झौताअनुसार अन्य उत्तर कोरियाली चिकित्सकसमेत नेपाल आउने उल्लेख रहेको स्रोतले बताएको छ । सेफर अस्पतालका सञ्चालकले उत्तर कोरियाली चिकित्सकको भिसा सिफारिसका लागि बनाएको आवश्यक कागजपत्रमा उनीहरू कोरियाली नागरिक भएको उल्लेख छ ।

सेफर अस्पतालले लेखेको पत्रमा ती चिकित्सक उत्तर वा दक्षिण कुन कोरियाका हुन् भन्ने खुलेको छैन । सेफरको पत्रमा उनीहरू कोरियाली नागरिक भएको उल्लेख छ । त्यसैका आधारमा स्वास्थ्य मन्त्रालयले कार्य सहमति दिन आग्रह गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो । गृहले समेत उनीहरूको राहदानी नहेरी स्वास्थ्य मन्त्रालयकै विश्वासमा कार्य सहमतिको पत्र दिएको छ । श्रम विभागमा कुनै पनि विदेशीलाई श्रम स्वीकृत दिनुअघि अनिवार्य अन्तर्वार्ता दिनुपर्ने प्रावधान छ ।

ती उत्तरकोरियाली चिकित्सकहरूको अन्तर्वार्तासमेत भयो । तर, अन्तर्वार्ताका क्रममा उनीहरूले उत्तर कोरियाली भन्ने पत्तो पाएनन् र आफ्नो रेकर्डमा श्रम विभागले उनीहरू दक्षिण कोरियाली चिकित्सक भएको भन्दै रेकर्ड राख्यो । श्रम विभागका निर्देशक वरुणकुमार झाले उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृत नदिएको जिकिर गर्दै आएका थिए । समाचार प्रकाशन भएपछि निर्देशक झाले आफ्नो रेकर्ड हेर्दासमेत उनीहरू दक्षिण कोरियाली भएको भन्दै जिकिर गरे ।

जब झाले आफ्ना कर्मचारीलाई सेफर अस्पतालको फायल हेर्न लगाए त्यसबेला मात्र उनीहरूले थाहा पाए कि उत्तर कोरियाली चिकित्सकलाई आफ्नो निकायले श्रम स्वीकृति दिएको । त्यसपछि झाले अब आइन्दा उत्तर वा दक्षिण कुन कोरियाका नागरिक हुन् खुलाएर पठाएपछि मात्र प्रक्रिया अघि बढाउने व्यहोराको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएका छन् । कार्य सहमति दिने क्रममा गृह मन्त्रालयसमेत नराम्ररी झुक्कियो ।

गृह मन्त्रालयले कात्तिक २७ गते उत्तर कोरियाली चिकित्सकलाई दिएको कार्य सहमतिपत्रमा समेत कोरियाली नागरिक मात्र उल्लेख गरेको छ । गृहले समेत उनीहरू उत्तर वा दक्षिण कुन कोरियाका नागरिक हुन् भन्ने खुलाएको छैन । गृह मन्त्रालयले अहिले अध्यागमन विभागमा पत्र लेखी कञ्चनपुरमा रहेका उत्तर कोरियाली चिकित्सकको गतिविधि निगरानी गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

तपाइको मत