तत्काल सार्वजनिक सवारी चलाउन नसक्ने यातायात व्यवसायीको निर्णय

२६ असार ०७७, काठमाडौं । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक सवारी चलाउने सक्ने निर्णय गरे पनि यातायात व्यवसायीले तत्काल सार्वजनिक सवारी चलाउन नसक्ने बताएको छ ।

शुक्रबार बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय समितिको बैठकले आफ्ना शर्तहरू पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेको हो ।

महासंघका महासचिव सरोज सिटौलाले बैङ्कको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै पनि सार्वजनिक सवारी चलाउने नसकिने निर्णय भएको बताए ।

सरकारले बिहीबार साँझ यात्रुवाहक सवारीलाई सञ्चालन गर्न सकिने निर्णय सार्वजनिक गरेको थियो ।