२८ कार्तिक ०७६, तनहुँ । म्याग्दे गाउँपालिका –२ जामुनेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा काम गर्दै गरेका दुई जना श्रमिकको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार स्वास्थ्य चौकी भवनमा मार्वल घाेट्ने र बिछ्याउने काम गरिरहेका दुई जना श्रमिकको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार निर्माणाधीन जामुने स्वास्थ्य चौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत शर्ट भएर करेन्ट लागेका २५ वर्षीय सागर आलम र २२ वर्षीय आजाद आलम दुबै जनाको मृत्यु भएको छ भने उनीहरूको शव दमौली अस्पतालमा राखिएको छ ।
उक्त घटना बारे आफूहरूले १२ बजे मात्रै थाहा पाएको म्याग्दे गाउँपालिका–२ का वडा सदस्य अर्जुन कुमार श्रेष्ठले बताए ।
‘घटनास्थल पुग्दा दुबैजना लडिरहेका थिए, मोर्टर कराइरहेको थियो’ श्रेष्ठले भने, ‘हतार-हतार बिजुलीको लाइन काट्यौं तर त्यहाँ नहुनुपर्ने दुर्घटना भइसकेको थियो ।’













