तपाईंको नाम पनि केन्द्रीय सदस्यमा राखिदिउँला, त्यसपछि समाचार झन् आधिकारिक – प्रकाश

२० असार, काठमाडौं ।
N kajiनेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या एक हजार पाँच सय पुगेको जानकारी पाएपछि एक जना पत्रकारले उक्त पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई टेलिफोन गर्दै भने, ‘दाइ केन्द्रीय सदस्यहरुको नामावली पठाइदिनुस् न !

उताबाट जवाफ आयो, ‘तपाईहरु खाली हाम्रो केन्द्रीय समितिको नामावलीको पछि किन लाग्नुहुन्छ ? हाम्रो पार्टीले मुलुकका लागि थुप्रै राम्रा काम गरेको छ, धेरै नै राम्रा निर्णय छन्, यसबारे समाचार बनाउनुस् न ।’

ती पत्रकारले फेरि आग्रह गरे, ‘केन्द्रीय सदस्यहरुको नाम र टेलिफोन नम्बर भयो भने हामीलाई समाचार बनाउन सजिलो हुन्छ, समाचारको पुष्टिका लागि सजिलो हुन्छ ।’

नारायणकाजीले हाँस्दै भने, ‘तपाईंको नाम पनि केन्द्रीय सदस्यमा राखिदिउँला नि, यसो भयो भने तपाईंको बाइलाइनमा आउने हाम्रो पार्टीका समाचार झन आधिकारिक हुन्छन् नि !’

‘यो कुराकानी अफ द रेकर्ड है भाइ’ भन्दै नारायणकाजीले भने, ‘बाबुरामजीको नयाँ शक्तिले वितरण गरेको सदस्यतालाई समेत माथ खुवाउँदै हामीले केन्द्रीय सदस्य पद वितरण गरेका छौं, बाबुरामको नयाँ शक्तिमा लाग्नेहरुले साधारण सदस्यता मात्रै पाउँछन्, हाम्रो पार्टीमा लाग्नेहरुले सिधै केन्द्रीय सदस्य पद पाउँछन् ।’

नारायणकाजीका अनुसार करिब नौ सयजना केन्द्रीय सदस्यको नाम अध्यक्ष प्रचण्डले उपल्लोस्तरका केन्द्रीय नेताहलाई उपलब्ध गराएका छन्, तर बाँकी ६ सयको नाम भने उनीसँग पनि छ वा छैन ? स्पष्ट हुन सकेको छैन । अध्यक्ष प्रचण्डले भेटेजति सबै कार्यकर्तालाई तपाईं केन्द्रीय सदस्यको लिस्टमा हुनुहुन्छ भन्ने गरेका छन् । तरुण साप्ताहिक/साझा पोष्टमा खबर छ ।

तपाइको मत