तरकारी बजारमा बिद्युतका कारण आगलागी, ५२ लाख रुपैयाँ भन्दा बढीको क्षति

१२ साउन ०७७, सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा बिद्युतका कारण भएको आगलागीबाट ५२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाखभन्दा बढीको क्षति भएको बताएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले आगलागीबाट फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको बताए ।

उनले स्थानीयवासी, वारुणयन्त्र, सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको पनि बताए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले आगलागीबाट रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायत ११ जनाको पसल र पसलमा भएका विभिन्न सामग्री साथै नगद जलेर नष्ट भएको बताए ।