तरकारी व्यवसाय चलिरहेका घर-टहरामा डोजर चल्यो !

८ फागुन, वीरगन्ज । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको तर व्यापारीहरुले तरकारी व्यवसाय सञ्चालन गर्दै आइरहेका घर-टहरा शनिबार बिहान डोजर लगाएर भत्काइएको छ ।

घन्टाघर नजिकको सो ठाउँमा सार्वजनिक पार्क बनाउने भनेर बारम्बार सूचना दिएपनि व्यापारीले सो सूचनाको अटेर गरेका कारण बाध्य भएर डोजर लगाउनुपरेको वीरगन्ज उपमहानगरपालिकाका प्रमुख पीताम्बर अधिकारीले बताएका छन् ।

व्यापारीहरुको घर-टहरा बनाएको जग्गामा वीरगन्ज उपमहानगरपालिकाले सार्वजनिक पार्क निर्माण गर्ने भनेर प्रहरी तथा डोजर लगाएर जग्गा खाली गराएको छ ।

तरकारी व्यवसायी सङ्घका अध्यक्ष विदुर साह कलवारले बिना पूर्वसूचना व्यापारीको घर भत्काउनुले गरिब व्यापारीलाई अन्याय भएको बताए ।

व्यापारीले आफूहरुले प्रयोग गर्दै आएका सो जग्गा खाली नगर्न भनी अदातलमा मुद्दा दिएकोमा जिल्ला अदातल पर्साले उपमहानगरपालिकाको पक्षमा फैसला सुनाएपछि उपमहानगरपालिकालाई जग्गा खाली गराउने बाटो खुलेको हो ।

तपाइको मत