
२५ असाेज ०७४, काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समाजवाद र अार्थिक समृद्धितिर लैजान कम्युनिष्टहरूकाे धुर्वीकरण जरुरी रहेकाे र नेकपा संयुक्तसँगकाे एकताले एउटा सन्देश दिन सफल भएकाे बताएका छन् ।
बुधबार बुद्धनगरमा माअाेवादी केन्द्र र नेकपा संयुक्त बीच पार्टी एकता घाेषणा भएसँगै कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले साे कुरा बताएका हुन् ।
उनले नेकपा संयुक्तसँग भएकाे पार्टी एकताले माअाेवादी केन्द्र र एमालेबीच गठित पार्टी एकता संयाेजन समितिलाई एकतासम्म लैजान अाधार तयार पारेकाे बताएका छन् ।
प्रचण्डले नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे र मसालका महामन्त्री माेहनविक्रम सिंहलाई संकेत गर्दै कम्युनिष्ट भन्ने तर भक्तपुर र प्युठान नछाड्नेबाट केही नहुने भन्दै उनीहरूलाई घेरा ठूलाे बनाउन अाग्रह समेत गरे ।
‘मेरा कतिपय गुरुहरुमध्ये उही पार्टीमा हुनुहुन्छ, घण्टी बजाइरहनु भएको छ । न समाजमा कुनै परिवर्तन छ, न जीवनमा कुनै अावेग, न कुनै अाक्राेश छ, उहाँहरू चलिरहनु भएको छ’ प्रचण्डले भने, ‘काेही भक्तपुरमा बस्नु भएको छ, भक्तपुरभन्दा बाहिर देख्नुहुन्न । कतिपय प्युठान हुनुहुन्छ, प्युठान बाहिर जानुहुन्न ।’
उनले थपे, ‘तर हामी फरक छाैं, हामी उत्पीडित वर्ग, समुदायकाे निम्ति अघि बढ्ने जमर्को गरेका छाैं, तरङ्ग र अावेग पैदा गर्दै समाजलाई रूपान्तरण गर्ने प्रक्रियामा छाैं, त्यो प्रक्रियामा अाजकाे एकता एउटा कडी हाे ।’
यसैगरी पार्टी एकता कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले प्रचण्ड र अाफूबीच धेरै पुरानाे सम्बन्ध रहेकाे भन्दै एउटै पार्टीमा रहेर शान्तिपूर्ण बाटोबाट समाजवादतर्फ अघि बढ्न पार्टी एकता गरिएको बताए ।













