तस्करीको करिब १ सय ३६ किलो सुन बरामद !

२१ भदौ ०७४, काठमाडौं । राजधानीबाट ८ महिनाको अवधिमा करिब १ सय ३६ किलो तस्करीको सुन बरामद भएको छ ।

सुन तस्करीमा प्राय: भरिया मात्र समातिने र उपल्लो तहका कारोबारीचाहिँ जोगिइरहने अवस्था देखिन्छ । पछिल्लो पटक ८८ किलो सुन बरामद हुँदा मुख्य तस्कर फरार रहेको छ ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले पछिल्लो पटक भदौ १९ गते बिहान ८८ किलो अवैध सुनसहित मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारीलाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसँगै क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।

तर, यस सुन काण्डको चिनियाँ तस्कर वान विई मिङ अवैध सुन प्रहरीले नियन्त्रणमा लिएको खबरले बजार तातिसक्दा बिहान १० बजे आरामपूर्वक पाँचेतारे होटल र्‍याडिसन होटलबाट बाहिरिँदै फरार भए । प्रहरीले सम्भाव्य ठाउँमा निगरानी र तलासीको क्रम जारी राखेका छन् ।

पुस २१ मा साढे ३३ किलो बढी सुन बरामद

यसैगरी गत पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट दुबईबाट आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन पास भएपछि यस काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका थिए ।

एसएसपी खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको थियो । यस सुन काण्डको आरोपमा काभ्रेका रामहरि कार्की पनि पक्राउ परेका थिए ।

दुई हप्ता नबित्दै १५ किलो अवैध सुन बरामद

यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले त्रिभुवन विमास्थलबाट सेटिङमा निकालिएको ३३ किलो सुन समातिएको दुई हप्ता नबित्दै बालाजुबाट प्रहरीले २०७३ माघ १ गते शनिवार १५ किलो अवैध सुन बरामद गरेको थियो ।

यो सुन काण्डमा प्रहरीले अवैद्य सुन सहित ७ जनालाई पक्राउ गरेको थियो ।

अबैद्य सुन तस्करमा संलग्न भएको आरोपमा सीआईबीले सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ का पेम्वा दोर्जे शेर्पा, भक्तपुरको सूर्यविनायक नगरपालिका-७ सिरुटारका ३८ वर्षे दिपेन्द्र थापा, काठमाडौं महानगरपालिका-१० वानेश्वर वस्ने ३९ वर्षे सरोज थापा, काभ्रे पाँचखाल नगरपालिका १ वस्ने ३८ वर्षे विष्णु गौतम, भक्तपूर सुर्यविनायक नगरपालिका-७ वर्षे राजेन्द्र खत्री, सोही ठाउँ वस्ने ३४ वर्षकै रविन खत्री र धनुषको जनकपुर उपमहानगरपालिका-७ का ३८ वर्षे दीपक कुमार शाहलाई पक्राउ गरेको थियो ।

यस बीचमा स–साना परिमाणमा समेत सुन तस्कर भएको प्रहरीको अनुसन्धान रिर्पोटले देखाएको छ ।

 

तपाइको मत