ताप्लेजुङमा काँग्रेस र एमालेलाई उम्मेदवार छनोट गर्न सकस

१ बैशाख ०७४, ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवार घोषणा गरेर गाउँगाउँमा पठाइसकेको छ भने नेपाली काँग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्न सकस परेको छ ।

माओवादी केन्द्रले चैत २६ गते नै एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई गाउँमा पठाए पनि मुख्य प्रतिस्पर्धी दलहरु काँग्रेस र एमालेले भने उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

विशेष महत्वका साथ हेरिएको फुङ्लिङ नगरपालिकामा उम्मेदवार छनोट गर्न यी दलहरुलाई सकस परेको छ । यहाँ मेयर पदका लागि उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि कसलाई प्रत्याशी बनाउने भन्ने विषयमा दैनिकजसो छलफल र बैठक चलिरहेको छ ।

नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरमा पूर्व पार्टी सभापति केशवप्रसाद दाहाल, हालका नगर सभापति शिवकुमार गुरुङ, पार्टीका जिल्ला कोषाध्यक्ष रणबहादुर कार्की, जङ्गबहादुर बस्नेत, डिल्ली बराललगायतको नाम बाहिर चर्चामा रहे पनि आधिकारिक रुपमा जिल्ला कार्यसमितिभित्र नाम नआएको जिल्ला सभापति लीलादेवी बोखिमले बताए ।

काँग्रेसले सिदिङ्मा गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष पदका प्रत्याशीको टुङ्गो लगाएको तर अन्यमा छलफल चलिरहेको समन्वय समितिहरुले जनाएका छन् ।

एमालेलाई पनि नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन समय लाग्ने जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताए ।

साम्सोहाङका अनुसार नगरपालिकाको मेयरमा पार्टी उपाध्यक्ष मातृका भट्टराई, शिक्षक महासङ्घका अध्यक्ष छत्रपति प्याकुरेल, उद्योग वाणिज्य सङ्घ, ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे, पार्टीका जिल्ला सदस्य सन्तोष खतिवडा, अर्का जिल्ला सदस्य नारायण चौलागाईं र भरत गुरुङले दाबी गरेका छन् ।

साम्सोहाङले मैवा खोला र आठराई त्रिवेणीमा पनि अध्यक्ष र उपाध्यक्षका प्रत्याशीको टुङ्गो लगाउन बाँकी रहेको छ । ती गाउँपालिकामा पनि आकाङ्क्षी धेरै देखिएकाले समय लागेको साम्सोहाङले बताए । बाँकी पाँचवटा गाउँपालिकामा भने यसअघि नै सर्वसम्मति बनेको जानकारी आएको र त्यसलाई आधिकारिकता दिएर घोषणा गरिने बताइएको छ ।

तपाइको मत