२७ असोज ०७४, ताप्लेजुङ । बजार अनुगमनका क्रममा ताप्लेजुङमा समयअगावै उत्पादन भएको तृष्णा नाम गरेको पानीको बोतल फेला परेको छ ।

अनुगमनका क्रममा बिहीबार एचएमएन फुड एण्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड झापाद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीका उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले सन् २०१८ को जनवरी महिना आउन तीन महिना बढी समय बाँकी छँदै उक्त मितिमा उत्पादन भएको पानीका बोतल बिक्री वितरणमा आएको फेला परेको जानकारी दिँदै अनुसन्धान थालिएको बताए ।
अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले म्याद गुज्रेका अन्य अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको र मिति नै फरक पर्ने गरी बजारमा आएको पानीका बोतल जफत गरी अनुसन्धान थालिएको जानकारी दिए ।
उत्पादन मिति सन् २०१८ जनवरी महिना उल्लेख गरिएको पानीको बोतलमा प्रयोग अवधि भने ६ महिनाको उल्लेख छ । सहायक प्रजिअ मादेनले दशैं अगाडिदेखि नियमित बजार अनुगमन गर्दै आएको र यस्तो त्रुटि भएको उपभोग्य वस्तु पहिलोपटक फेला परेको बताए ।
सहायक प्रजिअ मादेनले बजार अनुगमनका क्रममा कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, बिस्कृट, भुजिया, थुक्पा, आँटा, मैदा लगायतका खाद्य सामग्री म्याद गुज्रेको पाइएको बताए ।














