तामाकोशी आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

२८ चैत्र ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्यूत आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न पुगेका ओलीले निर्धारित समयमा नै काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका  हुन् ।

प्रधानमन्त्री ओलीले आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधै जानकारी गराउन समेत  निर्देशन दिएका छन् ।  उनले  भने-‘राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न पाउँदैनन् । ढिलासुस्ती गरे तत्कालन कारबाही गर्छु ।’

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु-जिरी सडकको स्तरोन्नतीका क्रममा सडकको अवस्था बिग्रिएकाले निर्धारित सयममा नै आयोजना सम्पन्न नहुने बताए ।

उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्यूत आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

२०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भुकम्प, भारतीय नाकाबन्दी,विष्फोटक पदार्थको अपूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने आयोजनाका कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ। चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन् २०१९को मे भित्र सम्पन्न गर्नुपर्ने छ ।

आयोजनाको निर्माण अवस्था बुझ्न प्रधानमन्त्री,उर्जामन्त्री सहित चिनियाँ राजदूतको टोली दोलखा पुगेका छन् । लामाबगरमा निर्माण गरिएको बाँध निरीक्षण गरेर प्रधानमन्त्री ओली आजै राजधानी फर्कनेछन् ।

 

तपाइको मत