तिवारी हत्याभित्र रहस्य लुकेको छ – पौडेल

७ पुस, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले तिवारी हत्याभित्र रहस्य लुकेको भन्दै  हत्यामा संलग्नलाई तत्काल कारवाही नगरे सरकार ढाल्ने चेतावनी दिएका छन् ।

tiwari

तिवारीको शवयात्रा अघि बुधबार साँझ बुटवल पुष्पलाल पार्कमा गरिएको शोकसभामा जनताको सुरक्षा गर्न नसक्ने सरकारको औचित्य नभएको बताउँदै नेता पौडेलले  एमाले हत्यामा संलग्नलाई कारवाही नगरे सरकारले राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रदेश विभाजनविरुद्धको आन्दोलनमा सक्रिय रहेकै बेला तिवारीको हत्या भएकाले एमालेले यसलाई गम्भिर घटनाको रुपमा लिएको भन्दै पौडेलले भने, ‘सरकारले अपराधी पत्ता लगाउन सक्दैन भने राजीनामा दिए हुन्छ, जनताको सुरक्षा हामी गर्छौ ।’

जिल्ला सुरक्षा समितिले सहिद घोषणा गर्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएपछि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुधबार राती देवघाटमा अन्तेष्टि गरिएको  छ ।

तिवारीको हत्यामा एमालेकै कार्यकर्ता संलग्न !

तिवारी हत्याका आरोपी मनोज विगतमा एमालेकै कार्यकर्ता थिए । उनी ४-५ वर्ष अघि सानोतिनो ठेक्कापट्टा गर्थे । र, गुण्डागर्दी गरेको आरोपमा प्रहरीले पक्राउ पनि गरेको थियो ।

‘घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ’, रुपन्देहीका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले भने, ‘पुन यस भन्दा अघि पनि संगठित अपराध हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेको अनुसन्धानमा पाइएको छ ।’

उक्त घटनाको विषयमा इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन एक प्रहरी अधिकृतले घटनालाई सम्झिदै भन्छन्, ‘म इप्रका बुटवलमा कार्यरत रहँदा गुण्डागर्दीको आरोपमा पुनलाई पक्राउ गरेका थियौं । तर, पुन एमालेको कार्यकर्ता रहेको कारण त्यसबेला एमालेका स्थानीय नेताहरुले पीडितलाई दबाद दिएर घटनाको जाहेरी प्रहरी कार्यालयमा दर्ता नगराउने ‘वातावरण’ बनाइदिएपछि ४ दिनमै छुटे ।’

तिवारीको हत्यामा संलग्नको बारेमा प्रहरीले बुधबार विहान थप एक जनालाई पक्राउ गरी सोधपुछ गरेको रुपन्देहीका प्रहरी प्रवत्ता एंव डीएसपी बेलबहादुर पाण्डेले बताए ।  उनले मंगलबार बरामद गरिएको बा ५१ प ८०७३ नम्बरको मोटरसाईकल अवैधानिक (चोरी)को भएको बताए ।

तपाइको मत