तीन वाम पार्टीको गठबन्धन असामान्य – प्रधानमन्त्री

२० असोज ०७४, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको गठबन्धन सामान्य नभएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै गठबन्धनभित्र थुप्रै कुरा लुकेको भन्दै समय क्रमअनुसार खुल्दै जाने बताए ।

‘वाम गठबन्धनले कांग्रेसलाई मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यतालाई नै चुनाती दिएको छ’ देउवाले भने, ‘यो सामान्य विषय होइन ।’

कांग्रेस बैठकमा पेश भएको प्रस्तावमा पनि तीन वाम पार्टीको गठबन्धनलाई अस्वाभाविक भनिएको छ । यसले लोकतान्त्रिक मूल्य मान्यताका साथै राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा गम्भीर खतरा पैदा भएको कांग्रेसको विश्लेषण छ ।

उनले अब सानातिना तुसहरु भए त्यसलाई छाडेर पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता र रामचन्द्र पौडेलले पनि चुनावी तालमेलका लागि त आफूहरुले पनि प्रचण्डसँग कुराकानी गरेको भन्दै कसरी वाम गठबन्धन नै भयो भन्ने गम्भीर भएको बताएका छन् ।

बैठकमा गगन थापाले चुनावी तालमेल सामान्य मात्र भएको बताउँदै उदार प्रजातान्त्रिक मूल्य जोगाउने शक्ति कांग्रेस हो भन्ने स्थापित गर्नुपर्ने बताए ।

तपाइको मत