तुलसीपुरमा कांग्रेसको चुनावी सभा नजिकै बम विस्फोट

१२ मंसिर ०७४, काठमाडौं । दाङको तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभा नजिकै बम विस्फोट भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ ‘घ’ लाइनमा तुलसी बोर्डिङ स्कुल नजिक डिलाइट कर्नर पसल छेउमा बम विस्फोट भएको हो । विष्फोटमा  ८ जना घाइते भएका छन् । घाइतेमध्य एकजना म्यादी प्रहरीसहित २ जनाको अवस्था गम्भीर छ ।

कांग्रेसको चुनावी सभा अरनिको मैदानबाट पाँच सय मिटर टाढा बम विस्फोट भएको प्रहरी प्रमुख मधुप्रसाद पुडासैनीले जानकारी दिए ।

विष्फोटमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १८ का १९ वर्षीय विनोद चौधरी, सल्यान बागचौरकी ४० वर्षीया देबी डिसी, सल्यान ढोरचौरका ४५ वर्षीय नरपति बुढाथोकी, बबई गाउँपालिका दाङका ३६ वर्षीय नेबबहादुर खत्री घाइते भएका छन् ।

अन्य घाइतेहरुमा शान्तिनगर गाउँपालिका २ दाङका हिमलाल रामजाली, तुलसीपुर उपमहानगरपालिका ७ की २३ वर्षीया जेनी डीसी र तुलसीपुर उपमहानगरपालिका ६ की १८ वर्षीया सुनिता चौधरी रहेका छन् ।

घाइतेमध्ये नाकमा चोट लागेका म्यादी प्रहरी चौधरी र ढाडमा चोट लागेको देबी डीसीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत् बाँकेको नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमै उपचार भैरहेको छ ।

सभालाई प्रधानमन्त्री एवम् सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँड लगायतले सम्बोधन गरेका छन् ।

जिल्लामा प्रधानमन्त्री आउनुभन्दा दुई दिन अघिदेखि सुरक्षा व्यवस्था कडा पारिए पनि बम विस्फोट भएपछि सभामा सहभागी र बाटोमा यात्रा गरिरहेका सर्वसाधारण त्रसित बनेका थिए ।

अहिले तुलसीपुर क्षेत्रमा थप प्रहरी परिचालन गरी बम बिष्फोट गराउने समूहको खोजी कार्यलाई जारी राखिएको छ ।

 

तपाइको मत