२१ असोज ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रममा यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि तोकिएकै मितिमा निर्वाचन हुने बताए ।
‘निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको छ, असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम नजिकिसकेको छ,’ यादवले भने, ‘आजको १५ दिनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता दिने मिति पनि आइसकेको छ ।’
समानुपातिक तर्फको बन्दसूची प्रस्तुत गर्दा विगतको राजनीतिक दलले चलखेल गर्न नमिल्ने गरी प्राथमिकताको क्रम कानूनले नै निर्धारण गरेको उनले बताए ।
मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र लोकतन्त्रको सुदृढीकरणको लागि निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने सन्दर्भमा जस्तोसुकै कारबाही गर्न दृढ रहेको बताए ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने प्रक्रिया, उम्मेदवारले बुझाउनुपर्ने धरौटी र निर्वाचन खर्चको विवरण, उम्मेदवारको बन्दसूची निर्धारण गर्ने ढाँचा, प्राप्त गरेको मतका आधारमा समानुपातिक समावेसी सिदान्त अपनाएर गर्नुपर्ने सिटको बाडँफाँड लगायतका बारेमा दलका प्रतिनिधिलाई प्रशिक्षण दिएको छ ।













