त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु हुने

१ साउन ०७४, काठमाडौं ।  त्रि.वि. शिक्षण अस्पतालले यसै वर्षदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ ।

महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा डा. रामेश सिंह भण्डारी नेतृत्वको टोलीले यसै आर्थिक वर्ष भित्र पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महराले भने, -‘अस्पतालमा कलेजो प्रत्यारोपणका लागि आवश्यक पर्ने पूर्वाधार विकासका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक बजेटसमेत प्राप्त भैसकेको छ ।  यसै आर्थिक वर्षदेखि सेवा सुरु गर्ने लक्ष्य छ ।’

यसैबीच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको स्तरोन्नतीका लागि जापान सरकारले अस्पताललाई सहयोगस्वरुप करिब ७० करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण दिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. महराका अनुसार आउँदो फेब्रुअरीसम्ममा सञ्चालन हुने लक्ष्यका साथ जापान सरकारले एमआरआई, मेमोग्राम, अल्ट्रासाउण्ड, एनेस्थेसियाको लागि आवश्यक उपकरण लगायत छन् ।

अस्पतालले आउँदो डिसेम्बरसम्म प्राप्त हुने उक्त उपकरणका लागि जापान सरकारले जापानमै बोलपत्र आह्वान गरिसकेको जनाएको छ ।

‘महाभूकम्पका बेला अस्पतालको निरीक्षण गर्न आएका जापानका राजदूतले अस्पताललाई सहयोग स्वरुप पैसा नै दिने निर्णय गरेका थिए । तर उक्त पैसाले गुुणस्तरीय उपकरण खरीदमा समस्या आउन सक्ने देखिएपछि हामीले उपकरणकै माग गर्‍यौं,’ डा. महराले भने ।

सोही मागलाई दृष्टिगत गरी जापान सरकारले यही डिसेम्बरसम्म आउने गरी एक अर्ब रुपैयाँ बराबरको उपकरण दिने प्रतिवद्धता जनाएको महराले बताए ।

यसैबीच चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रि.वि. शिक्षण अस्पताल र जापानको आम्दा इन्टरनेशनलबीच विपद व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ ।

तपाइको मत