थप चार जना कोरोना संक्रमितको निधन, मृतकको संख्या ९५ पुग्यो

२९ साउन ०७७, काठमाडौं । नेपालमा कोभिड-१९ बाट मृत्यु हुने संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ बाट मृत्यु हुने कूल संख्या ९५ पुगेको बताएका हुन् ।

मन्त्रालयका प्रवक्ता गौतमले महोत्तरी, धनुषा, अछाम र मोरङका एक/एक कोरोना संक्रमितको विभिन्न अस्पतालमा निधन भएको बताए ।

उनले महोत्तरी जिल्ला मटियानी नगरपालिका ६ निवासी क्षयरोग तथा मधुमेहको बिरामी ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकी अस्पतालमा निधन भएको बताए ।

उस्तै धनुषा जिल्ला मिथिला नगरपालिका ७ ढल्केबर निवासी ८५ वर्षीया महिलाको साउन २८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको उनले बताए ।

यसैगरी मुटुका बिरामी समेत रहेका अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नं. ५ निवासी १८ वर्षीय पुरुषको साउन २८ गते पाटन अस्पताल ललितपुरमा मृत्यु भएको बताए ।

उनले मोरङ जिल्ला बिराटनगर महानगरपालिका ३ निवासी मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका कोरोना संक्रमित ५७ बर्षीय एक पुरुषको साउन २८ गते कोशी अस्पताल बिराटनगरमा निधन भएको बताए ।