थप १०१ जनामा कोरोना संक्रमण पुष्टि, एक संक्रमित पुरुषको निधन

२ साउन ०७७, काठमाडौं । स्वास्थ्य मन्त्रालयले थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । योसँगै कूल संक्रमित संख्या १७ हजार ४४५ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्राडा जागेश्वर गौतमले कूल संक्रमित संख्या १७ हजार ४४५ पुगेको जानकारी दिएका हुन् ।

उनले संक्रमित पुरुष ८७ प्रतिशत र महिला १३ प्रतिशत रहेको बताए । साथै, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्लाजिल्लामा सक्रिय कोरोना संक्रमित नरहेको पनि बताए ।

यस्तै गौतमले कोरोना संक्रमित सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. १ निवासी ७३ वर्षीय मुटु रोगी पुरुषको निधन भएको बताए ।

ती मुटुरोगी पुरुष खोकी ज्वारो, श्वास–प्रश्वास र रुघाखोकी समेत देखिएपछि विपी कोइराला अस्पताल धरानमा असार ३१ गते भर्ना भएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको र उनको उपचारकै क्रममा साउन १ गते राती १०ः १५ बजे निधन भएको उनले बताए ।

योसँगै निधन हुने कोरोना संक्रमितहरुको कूल संख्या ४० पुगेको छ ।