१० भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ११ जना कोरोना संक्रमितको निधन भएको पुष्टि गर्दै योसँगै कूल मृत्यु हुनेको संख्या १७५ पुगेको बताएका हुन् ।
उनले पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितहरु दुई महिला र ९ जना पुरुष रहेको बताए ।
प्रवक्ता गौतमले मृत्यु हुने कोरोना संक्रमित मोरङका ४६ वर्षीया महिला र भक्तपुरका ५३ वर्षीया महिला रहेको बताए । यस्तै उनले कैलालीको ४५ र ५० वर्षीय दुई पुरुष, महोत्तरीको ६०, ७२ र ७५ वर्षीय ३ जना पुरुष, बाँकेको ३७ वर्षीय पुरुष, काठमाडौंको ५१ वर्षीय पुरुष साथै बाराको ४१ र ४६ वर्षीय दुई पुरुषको निधन भएको जानकारी दिए ।
यस्तै देशभर भेन्टीलेटरमा १४ जना र आइसीयुमा १५१ जना बिरामी उपचाररत् रहेको पनि उनले जानकारी दिए ।