थप १३३ जनामा कोरोना पुष्टि, मृत्यु हुने संक्रमित संख्या ४४ पुग्यो

९ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३ हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको बताएका हुन् ।

उनले हाल ५ हजार ३८३ जना आइसोलेसनमा र १९ हजार ४४४ जना क्वारेन्टाइनमा रहेको साथै १२ हजार ९४७ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।

यसैगरी प्रवक्ता गौतमले वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुर निवासी कोरोना संक्रमित ८५ वर्षीया महिलाको आज बिहान पौने ७ बजे नारायणी उपक्षेत्रीय अस्पताल निधन भएको बताए । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

ती महिला मुटु र निमोनियाबाट ग्रसित भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको उनले बताए ।