थप ३ जना कोरोना संक्रमितको निधन

२४ साउन ०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निधन हुनेहरुको संख्या ७३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा थप ३ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिँदै यससँगै निधन हुने कोरोना संक्रमित ७३ पुगेको बताए ।

उनले शुक्रबार ३ जना संक्रमितहरुको निधन भएको बताए । जसमा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. ३ छप्कैया बस्ने मधुमेह र दमका बिरामी रहेका वर्ष ७४ का एक पुरुषको २३ गते १ः३० बजे गण्डक कोभिड अस्पताल वीरगंजमा निधन भएको बताए ।

यस्तै मोरङ जिल्ला विराटनगर महानगरपालिका ९ वस्ने वर्ष ५८ का एक पुरुषको साउन २३ गते बिहान ९ः१५ बजे कोशी अस्पतालमा निधन भएको बताए ।

उच्चरक्तचापका बिरामी रहेका ती पुरुषलाई निमोनिया, ज्वरो र स्वास्प्रशवासमा कठिनाई भएपछि केहीदिनदेखि सप्तकोशी अस्पतालमा उपचाररत रहेको तर स्वास्थ्य समस्या बढ्दै गएपछि कोशी अस्पताल रिफर गरिएको उनले बताए ।

यस्तै काठमाडौं जिल्ला टोखा ६ बस्ने वर्ष ४१ की एक महिलाको साउन २३ गते बिहान ११ः२३ पाटन अस्पतालमा निधन भएको समेत प्रवक्ता गौतमले जानकारी दिए ।