३२ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को ६४१ जना संक्रमित थपिएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाको कूल संक्रमित संख्या २६ हजार ६६० पुगेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनाको पीसीआर परीक्षण भएकोमा ६४१ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ९ हजार २२१ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १५ हजार २४३ रहेको बताए ।
उनले हालसम्म १७ हजार ३३५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको पनि बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमित पर्सामा एक पुरुष र मोरङ जिल्लामा एक जना महिलाको मृत्यु भएको बताए । योसँगै मृत्यु हुने कोरोना संक्रमित संख्या १०४ जना पुगेका छन् ।