१६ पुस ०७४ काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दक्षिण अफ्रिकाको जोहान्सवर्गमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका १ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुंगेललाई शनिबार पक्राउ गरेको हो ।
सीआइबीकाअनुसार ढुंगेलमाथि प्रति-व्यक्ति कम्तिमा ७ लाख रुपैयाँ लिएर दक्षिण अफ्रिका पुर्याएर पारिश्रमिकविनै काम लगाएर मानसिक र शारीरिक यातना दिएको आरोप छ ।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार पीडितहरुलाई अफ्रिकामा अलपत्र पारी उल्टै धम्की दिइरहेको उजुरी परेको आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
कानुनतः यस्तो कार्यमा संलग्न व्यक्तिलाई २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ ।













