१५ मंसिर, कालिकोट । नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले एकपटक अन्तिम युद्ध हुने बताएका छन् ।
कालिकोटको सदरमुकाम मान्मामा मंगलबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले आफ्नो पार्टीले क्रान्ति गर्दा दलाल सरकारले दमन गर्ने र एकपटक अन्तिम युद्ध हुने विचार व्यक्त गरे ।
‘हामी २१ शताब्दीको क्रान्ति एकीकृत जनक्रान्तिमार्फत गर्न चाहान्छौं, दमन भएमा स्वतः युद्ध हुन्छ,’ उनले भने, ‘जनजिविकाका मुद्धा उठाउँदा दलाल सरकारले दमन गर्छ गिरफ्तार गर्छ, अनि राज्यले दमन गर्छ भने पुनः प्रतिरोध हुन्छ ।’
प्रवक्ता विश्वकर्माले विगतमा जनयुद्धले स्थापित गरेका मुल्य र मान्यता जनपक्षीय भएपनि जनयुद्ध विरोधीले जनता र जनताबीचको युद्धको रुपमा ब्याख्या गर्ने र दुरुपयोग गर्न खोज्दा धेरै क्षति भएको बताउँदै नेकपा (माओवादी)को जन्मसँगै जनविरोधीहरु अत्तालिएको र जनतालाई ठग्नेहरु जनताका मुद्धाविरुद्ध बोल्ने अन्तिम प्रयास गरिरहेको बताए ।
जनताले युद्ध नचाएपनि दलाल सरकारकै कारण मुलुकमा अन्तिम युद्ध भइछाड्ने उनको दावी थियो ।