२५ कार्तिक ०७७, काठमाडौं । गृह मन्त्रालयले दर्ता नगरी सञ्चालनमा रहेका क्रसर तत्काल बन्द गराउन निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको गृहमन्त्री, उर्जामन्त्री, उद्योगमन्त्री, वनमन्त्री लगायतको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णयपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बिना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुखसहित इञ्जिनियर सम्मेलित टोलीबाट तत्काल अनुगमन गर्न पनि भनेको छ ।
गृहले अनुगमनबाट क्रसर एवम्ं बालुवा प्रशोधन उद्योग मापदण्ड अनुसार भए, नभएको, तोकिएको जग्गामा सञ्चालन भए, नभएको साथै तोकिएका अन्य शर्तहरू पालना गरिए, नगरिएको लगायतका विवरण संकलन गरी ७ दिनभित्र रिपोर्ट पेश गर्न पनि भनेको छ ।